राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे संसदमा प्रश्न : सचिवालयले दियो यस्तो जवाफ

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेका जानकारी गराउन सांसदहरुले माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकमा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेकी हुन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै राईले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताएकी हुन् ।
राष्ट्रपति पौडेल हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भई उपचाररत रहेका छन् । उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै रााष्ट्रपतिको कार्यालयले उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ । सचिवालयका तर्फबाट किरण पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिइएको छ ।
यसैबीच पौडेलको सचिवालयले विदेशमा उपचार गराउने राष्ट्रपतिको चाहना नभएको पनि स्पष्ट पारेको छ । नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली, प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा भारत जान तयार भएका जनाएका छन् ।
‘सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो’, पोखरेलले भनेका छन्, ‘यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौ।’
राष्ट्रपतिको उपचार नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानुन, नियम र निश्चित विधिअनुसार हुने भन्दै उनले राष्ट्रपति संस्थालाई नै विवादमा पार्ने मनसायले प्रचार भएको भन्दै विरोध जनाएका छन् ।
विज्ञप्तिमा राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । सुरुमा नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि वैशाख ६ गते भारत लगिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया