ललितपुर मालपोतका ३ सुब्बा घुस लिँदालिँदै अख्तियारको फन्दामा
ललितपुर । घुस लिँदालिँदै भूमि प्रशासन ९मालपोत० कार्यालय लगनखेल, ललितपुर ३ सुब्बा अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो। लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाल समेत उक्त प्रकरणमा पक्राउ परेका हुन्।
मालपोतका ३ नायब सुब्बा र दुई लेखापढी व्यवसायी समेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि दुख हैरानी दिई सेवाग्राहीसँग घुस ररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीबाट घुस र रिसवत वापतको ३ लाख रुपैयाँ लिइसकेको अवस्थामा र श्रोत नखुलेको २४ हजार ८ सय ९० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
उनीहरूलाई घूस र श्रोत नखुलेको रकमसहित ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार जानकारी दिएको हो।

क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार










प्रतिक्रिया