Techie IT
  • १९ भदौ २०८३, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

भोटेकोशीका बाढीपीडितको घाउमा मलम लगाउँदै रोटरी क्लब अफ महाबौद्धस् १ लाख ६ हजार सहयोग हस्तान्तरण


ललितपुर । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ। यही क्रममा रोटरी क्लब अफ महाबौद्धले बाढीपीडितको सहयोगार्थ १ लाख ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

क्लबले आफ्ना सदस्यहरूबाट संकलन गरेको १ लाख ६ हजार रुपैयाँ रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानलाई हस्तान्तरण गरेको हो। क्लबका प्रेसिडेन्ट नवराज सञ्जेलको नेतृत्वमा संकलित रकम रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा तत्काल राहतको आवश्यकता बढिरहेका बेला रोटरी क्लबले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम जुटाएको जनाएको छ। क्लबका सदस्यहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन्।

रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका विभिन्न रोटरी क्लबहरूले संकलन गर्ने सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने क्लबका प्रेसिडेन्ट सञ्जेलले जानकारी दिनुभयो। त्यसरी संकलित रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रेसिडेन्ट सञ्जेलले बाढीमा बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विपद्को लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता नलाग्दा परिवारहरू पीडामा रहेकाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।

उहाँले राहतको तत्काल आवश्यकता रहेका पीडित परिवारसम्म सहयोग पुर्‍याउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो। बाढीबाट घरबारविहीन भएका, आफन्त गुमाएका तथा आधारभूत आवश्यकताबाट समेत वञ्चित भएका परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, आवास तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो।

तर बाढीपीडितको समस्या तत्कालीन राहतमा मात्र सीमित नभएकाले सरकारले प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राख्नुपर्ने सञ्जेलको भनाइ छ।

बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानी तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणसँगै विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकार र सम्बन्धित निकायले विशेष योजना बनाउनुपर्ने उहाँले बताउनुभयो।

विपद्को समयमा सरकारी संयन्त्रसँगै सामाजिक संघसंस्था, नागरिक समाज र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै रोटरी क्लब महाबौद्धले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा ठूलो संकट निम्त्याएका बेला विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट भइरहेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। तर तत्कालको राहतसँगै बेपत्ताको खोजी, प्रभावितको सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता भने उत्तिकै देखिएको छ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode