भारदेउ सिमेन्ट – प्रशासनले हटायो अवरोध,सञ्चालन आउँदै उद्योग
बन्द उद्योग चलाउने सरकारको नीति ,खानीबाट स्थानीय र राज्य दुवैलाई बहुपक्षीय लाभ
ललितपुर । ललितपुरको भारदेउ क्षेत्रमा सञ्चालन अनुमति पाएको भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डिष्ट्रिज प्रा.लि.ले वि.सं. २०६४ सालमा मन्त्रीपरिषद्को निर्णयबाट ४० वर्षका लागि खानी सञ्चालन तथा सिमेन्ट उत्पादनको अनुमति पायो । कम्पनीले सरकारको नीति नियमको अधीनमा रहेर नियमित रूपमा काम गर्दै आएको छ । प्रत्येक १०–१० वर्षमा नवीकरण पनि गर्दै आएको छ ।
पछिल्लो पटक जेठ ९ गते मन्त्रीस्तरीय निर्णयबाट नवीकरण भएपछि खानी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको थियो । तर ४ हेक्टर (करिब ८० रोपनी) वन क्षेत्रमा रुख कटान भइसकेपछि केही स्थानीय बासिन्दाले सडकमा खाल्टो खनेर अवरोध सिर्जना गरेका छन् । यसले उद्योग सञ्चालनमा बाधा पु¥याएको छ ।
सरकारले बन्द उद्योगलाई पुनः सञ्चालन गरी उद्योगधन्दा र कलकारखाना विकासलाई प्राथमिकतामा राखेपनि यस्तो अवरोधले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।
उसो त कानुनी प्रक्रिया पूरा गरी संचालन हुन लागेको उद्योगको काम कारवाहीमा अवरोध खडा गरेपछि मंगलवार ललितपुरको कोन्ज्योसोम गाउँपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले स्थानीय बासिन्दासँग संवाद र स्थलगत अवलोकन गरी सम्पूर्ण प्रक्रिया पुगेको भन्दै अवरोध हटाएका छन् । र उद्योग संचालनका लागि कुनै पनि अवरोध सिर्जना नगर्न आग्रह गरेका छन् । तर पनि केही स्थानीय बासिन्दाले अझैपनि उद्योग संचालन गर्न नदिने बताइरहेका छन् ।
राज्यको राजश्व र रोजगारी मै असर
सिमेन्ट उद्योगले राज्यलाई ठूलो मात्रामा राजस्व प्रदान गर्छ । खानी तथा उद्योग सञ्चालनपछि रोयल्टी, कर तथा अन्य शुल्कबाट सरकारी कोष चलायमान हुन्छ । त्यसमाथि उद्योगले स्थानीय स्तरमा समेत ठूलो रोजगारीको अवसर सिर्जना गर्ने हुदाँ बेरोजगारीको समस्या समाधानमा पनि टेवा पुग्ने देखिन्छ । उद्योग चल्दा स्थानीय बजार, ढुवानी सेवा, लगायत पनि चलायमान हुने हुदाँ अन्य क्षेत्र पनि लाभान्वित हुने देखिन्छ । तर यसतर्फ चिन्तन मनन नगरी स्थानीयहरुले अवरोध गरेको खानी संचालनकको गूनासो छ ।
ढुवानीको सम्पुर्ण जिम्मा स्थानीयलाई
उद्योगले खानीबाट उत्खनन गरिएको चुन ढुंगा र ढुंगाको ढुवानी गर्ने सम्पूर्ण जिम्मा स्थानीय स्तरमै केन्द्रित गर्ने तयारी गरेको छ । यसले ढुवानी व्यवसायी र चालकहरु समेत लाभान्वित हुने र अर्थतन्त्र चलायमान हुने देखिन्छ ।
नेपालमा सिमेन्ट उद्योगले आत्मनिर्भरता तर्फ महत्वपूर्ण भूमिका खेलेको छ । पहिले भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट अहिले स्वदेशी उत्पादनले बजारको ठूलो अंश धानेको छ । यस्ता उद्योगहरू सञ्चालनमा आउँदा विदेशी मुद्रा बचत हुन्छ र व्यापार घाटा कम भएको तथ्यांकहरुले देखाएका छन् । स्थानीय कच्चा पदार्थ उपयोगले स्रोतको सदुपयोग पनि हुन्छ । सरकारले वन क्षेत्रमा दिइएको अनुमति वातावरणीय मापदण्ड र पुनस्र्थापना योजनासहित दिइएको हुन्छ ।
स्थानीय अवरोधले केवल उद्योग मात्र होइन, समग्र विकास प्रक्रियालाई प्रभावित गर्ने भन्दै उद्योथ क्षेत्रका अनुभविले टिकाटिप्पणी गरिरहेका छन् । भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डिष्ट्रिज प्रा.लि. सञ्चालनमा आएमा ललितपुर जिल्लाको अर्थतन्त्रमा योगदान पुग्नेछ । सिमेन्ट उत्पादनले निर्माण क्षेत्रलाई सहयोग गर्छ भने ढुङ्गा तथा खानीजन्य गतिविधिले स्थानीय सामग्रीको आपूर्ति बढाउँछ ।
सरकारको औद्योगिक विकास नीति र रोजगारी सिर्जनाको लक्ष्य पूरा गर्न यस्ता उद्योगहरू अपरिहार्य छन् । स्थानीय सरोकारलाई सम्बोधन गर्दै वातावरणमैत्री तरिकाले उद्योग अघि बढाउनु नै दिगो विकासको बाटो हो । अवरोध हटाएर उद्योग सञ्चालन गर्नु राज्य, स्थानीय समुदाय र राष्ट्रिय अर्थतन्त्र सबैका लागि लाभदायक हुने देखिन्छ ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, प्रमुख समाचार








प्रतिक्रिया