स्थानीय समृद्धि र वातावरणीय संरक्षणमा भारदेउ सिमेन्ट प्रतिबद्ध-सामाजिक सञ्जालका भ्रामक खबरप्रति ध्यानाकर्षण,लगानीमाथि किन प्रहार ?
ललितपुर । उद्योग खोल्न नदिने, लगानी निरुत्साहित गर्ने र विकासका सम्भावनालाई विवादमा तान्ने प्रवृत्ति नेपालमा नयाँ होइन । ललितपुरको कोन्ज्योसोममा सञ्चालित भारदेउ सिमेन्ट एण्ड स्टोन इन्डस्ट्रिज प्रालिको हकमा पनि यस्तै भएको छ । चुनढुङ्गा उत्खनन र उद्योग सञ्चालनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न भ्रामक तथा तथ्यहीन सूचना फैलाइएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । आफूले नेपाल सरकारबाटै कानुनी अनुमति लिएर काम गरिरहेको र आवश्यक सबै प्रक्रिया पूरा गरेको बताउर्दै कम्पनीले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार नेपाल सरकारको २०६४ साल जेठ ९ गतेको मन्त्रिस्तरीय निर्णयबाट ललितपुरको कोन्ज्योसोम क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको ४ हेक्टर जग्गामा ४० वर्षका लागि चुनढुङ्गा उत्खनन गर्ने अनुमति पाएको थियो । उक्त अनुमति प्राप्त गरेपछि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया, नवीकरण, राजस्व भुक्तानी, वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् ईआईए तथा अन्य दायित्व पूरा गरेको कम्पीनले स्पष्ट पारेको छ ।
कम्पनीले आफूखुसी प्राकृतिक स्रोत दोहन नगरेको र सरकारी निकायले निर्धारण गरेका मापदण्ड तथा प्रक्रियाभित्र रहेर उद्योग सञ्चालन गरिरहेको स्पष्ट पारेको हो । यस विषयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाहरूको उपस्थितिमा बैठक तथा स्थलगत अनुगमनसमेत भइसकेको कम्पनीको भनाइ छ । प्रशासनिक तहबाट भएका छलफल, अनुगमन र समन्वयका आधारमा उद्योग सञ्चालनको प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
उद्योगले स्थानीय समुदायसँग पनि विवाद नरहेको दाबी गरेको छ । स्थानीयको शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासलगायतका विषय समेटेर १८ बुँदे प्रतिबद्धतापत्रसमेत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । सोही प्रतिबद्धता र आपसी समझदारीका आधारमा स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने सहमति भएको कम्पनीको भनाइ छ ।
कम्पनीले हाल उद्योग सञ्चालनमा सम्बन्धित सरकारी निकायबाट कुनै रोकावट नरहेको र स्थानीय समुदायसँग पनि सञ्चालनसम्बन्धी विवाद नरहेको स्पष्ट पारेको छ । कम्पनीले भारदेउ सिमेन्ट उद्योगलाई एउटा व्यावसायिक संस्थाका रूपमा मात्रै नभई स्थानीय रोजगारी, व्यवसाय प्रवद्र्धन, सरकारी राजस्व र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने औद्योगिक परियोजनाका रूपमा व्याख्या गरेको छ । चुनढुङ्गा सिमेन्ट उत्पादनको प्रमुख कच्चा पदार्थ भएकाले यसको उत्खनन र आपूर्तिले स्वदेशी सिमेन्ट उद्योगको आपूर्ति शृङ्खलामा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ ।
नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध हुँदाहुँदै पनि औद्योगिक लगानी र उत्पादनका विषयमा बारम्बार विवाद सिर्जना हुनु लगानीमैत्री वातावरणका दृष्टिले सकारात्मक नभएको कम्पनीको बुझाइ छ । उद्योग सञ्चालनले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, स्थानीय व्यवसाय तथा सेवा क्षेत्रलाई चलायमान बनाउने र राज्यलाई राजस्व उपलब्ध गराउने उसको दाबी छ ।
यसैबीच कम्पनीले व्यक्तिगत स्वार्थ, पूर्वाग्रह वा अन्य उद्देश्यबाट प्रेरित भएर उद्योगलाई गैरकानुनी र अनधिकृत रूपमा प्राकृतिक स्रोत दोहन गर्ने संस्थाका रूपमा चित्रण नगर्ने सबैमा आग्रह गरेको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीको आधिकारिकता र तथ्यगत सत्यता पुष्टि गरेर मात्रै सूचना सार्वजनिक गर्न र साथै कम्पनीको व्यावसायिक प्रतिष्ठा र वैधानिक अधिकारमा आँच पु¥याउने उद्देश्यले निरन्तर भ्रामक तथा मानहानिकारक सामग्री सम्प्रेषण नगर्ने अनुरोध गरेको हो ।
क्याटेगोरी : खोज मिसन








प्रतिक्रिया