गोदावरीमा निमार्ण भएको सनराईज सभाहलको सय रोपनी जग्गाा कहाँ हरायो ?
ललितपुर । ललितपुरको गोदावरी वडा नम्बर ३ मा असी करोड भन्दा बढी रूपैयाँ खर्चेर निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै एकपछि अर्को समस्या देखापरेका छन् । महालेखा परीक्षकको कार्यालयको ६० औं वार्षिक प्रतिवेदनले सभाहल निर्माणमा अधिकांश त्रुटि तथा कमजोरी देखिएको औंल्याएको छ ।
महालेखाको प्रतिवेदनले सभाहल निर्माण सकिएको एक वर्ष नबित्दै विभिन्न ठाउँमा छानोबाट पानी चुहिएको, फल्स सिलिङ भत्किएको, ठूला काठका ढोका पूरा नखुल्ने अवस्था आएको देखाएको छ । यस्तै सभाहल निमार्ण गर्ने १४३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएपनि ४३ रोपनी जग्गामा सभाहल निमार्ण भएको र बाँकी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ ।
सभाहलको भवनमा क्यान्टिन, सुरक्षागार्ड तथा मर्मतसम्भार र सरसफाइ गर्ने कर्मचारीको लागि बस्ने स्थान निर्माण नभएको, मञ्च अपाङ्गमैत्री नभएको र पछाडिको कोरिडोर होचो र साँघुरो भएको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएको कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज हुने जस्ता समस्या देखिएको छ ।
यस्तै छानोको ट्रसको बेस प्लेट र एंकरबोल्ट भएको ठाउँमा डिजाइन गर्दा सियर लगको डिजाइन गरिएकोमा सो सियरलग निर्माण भएको छैन । निर्माणसँग सम्बन्धित त्रुटि सुधार गरी सभाहल सञ्चालनको सुनिश्चितता गर्न प्रतिवेदनमा भनिएको छ ।
ठेक्का सम्झौता अनुसार ६५ करोड ८१ लाख ६५ हजार रूपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो सभाहलको भेरिएसन आदेशपछि ८२ करोड १४ लाख ३० हजार (संशोधित लागत) कायम भएको थियो । यो सभाहलको निर्माण २०७७ चैत ३० गते ८० करोड २७ लाख १६ हजारमा सम्पन्न भएको हो।
पुर्वप्रधानमन्त्री ओलीले २०७८ बैशाख ३१ मा सरकारीनिवास बालुवाटारबाट स्विच थिचेर भर्चुअल रूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया