झापाको विद्यालयमा झुट्टा बिलमार्फत रकम हिनामिना, अख्तियारको कडा कारबाही
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरेका हुन्। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएको देखिएपछि उनीहरूविरुद्ध विशेष अदालत मा मंगलबार मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा भवन निर्माणबाहेक पनि आर्थिक वर्ष २०७७/७८ देखि नै उनीहरूले आपसी मिलेमतोमा नगद मौज्दात हिनामिना गरेको खुलेको आयोगले जनाएको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु राख्नुका साथै १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप छ।
अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, जरिवाना तथा हिनामिना भएको रकम असुल उपर गर्न मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया