Techie IT
  • १७ जेठ २०८३, आईतबार
  • काठमाडौं
Khoj Mission News

सर्लाही–४ का लागि गगन कुमार थापा का ९ अभियान, शिक्षा–स्वास्थ्यदेखि रोजगारीसम्मका प्रतिबद्धता


सर्लाही। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गगन कुमार थापा ले सर्लाही क्षेत्र नम्बर–४ का मतदातासामु विभिन्न विकास तथा सामाजिक रूपान्तरणका कार्यक्रमसहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका थापाले क्षेत्रका समस्या प्रत्यक्ष अध्ययनपछि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राख्दै अभियान घोषणा गरेका हुन्।

थापाले सर्लाही–४ का गाउँबस्तीमा पुगेर नागरिकसँग संवाद गर्दै दीर्घकालीन विकासको खाका तयार गरेको बताएका छन्। उनका अनुसार सडक, पुल, सिँचाइ, खानेपानी, ढल व्यवस्थापन लगायत आधारभूत पूर्वाधार सुधार पहिलो प्राथमिकता हुनेछ।

शिक्षा र स्वास्थ्यमा विशेष योजना

घोषणापत्रअनुसार विद्यालयको गुणस्तर सुधार, विज्ञान–अंग्रेजी शिक्षामा जोड, गरिब तथा दलित विद्यार्थीका लागि छात्रवृत्ति र प्राविधिक शिक्षाको विस्तार गरिनेछ।
स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा चिकित्सकसहित सेवा केन्द्र, मोबाइल क्लिनिक, कुपोषण नियन्त्रण कार्यक्रम तथा सर्पदंश र कालाजार उपचार सहज बनाउने योजना अघि सारिएको छ।

कृषि र किसानका लागि कार्यक्रम

कृषि क्षेत्रलाई मजबुत बनाउन मल, बीउ र बजारको सुनिश्चितता, सिँचाइ विस्तार, चिस्यान भण्डारण, न्यूनतम समर्थन मूल्य र कृषिमा आधारित उद्यम प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ। किसानको आय बढाउन फलफूल, तरकारी र मत्स्यपालनलाई पनि जोड दिने योजना उल्लेख गरिएको छ।

बाढी नियन्त्रण र प्राकृतिक स्रोत संरक्षण

क्षेत्रमा हुने बाढी तथा डुबान समस्या समाधानका लागि नदी नियन्त्रण, तटबन्ध निर्माण, जल संरक्षण र वृक्षरोपण अभियान सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

रोजगारी र युवा लक्षित कार्यक्रम

युवालाई विदेश पलायन हुनुपर्ने अवस्था घटाउन सीप तालिम, रोजगार सूचना केन्द्र, उद्यमका लागि सहुलियत ऋण र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सहयोग डेस्क स्थापना गर्ने लक्ष्य राखिएको छ।

महिला, दलित र सीमान्तकृत समुदाय

महिला उद्यम कर्जा, घरेलु हिंसा तथा बालविवाह विरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा, रोजगारी र आवासका कार्यक्रम ल्याइने प्रतिबद्धता गरिएको छ।

सीमा क्षेत्र विकास

भारतसँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षा र विकासका लागि सडक, सिँचाइ, विद्युत् र बजार व्यवस्थापनलाई प्राथमिकता दिइने योजना पनि सार्वजनिक गरिएको छ।

उम्मेदवार थापाले जनताको समस्या सुन्न र समाधान गर्न क्षेत्रमै ‘जनता संवाद कार्यालय’ स्थापना गर्ने घोषणा गर्दै आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने बताएका छन्। उनका अनुसार विकास, सुशासन र अवसर सिर्जना नै आफ्नो मुख्य एजेण्डा हुनेछ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode