काठमाडौं महानगरमा हलचल, नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, निमित्तको जिम्मेवारी जोशीलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पु¥याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हो ।
निलम्बनको पत्रमा भनिएको छ– २०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानूनी हुलहुज्जत र हातपात युक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टिकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना समबन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु । अतः चाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईलाई आजका मितिले लागु हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु ।
बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था अनुसार उनलाई निलम्बन गरिएको बताइएको छ । पाण्डेलाई निलम्बन गरेर निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ । जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
गुरागाईले चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनाको छानबिनका लागि जाँचबुझ समिति पनि गठन गरेका छन् । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया