पेचिलो बन्दै भिजिट भिसा प्रकरण, गृहमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा माओवादी र रास्वपा

काठमाडौ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिए । अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनको भनाइ छ ।
आजै सिंहदरबारमा बसेको तीन प्रमुख दलको बैठकमा पनि गृहमन्त्रीका विषयमा छलफल भएको थियो । कांग्रेस र एमालेले संसदमा भइरहेको गतिरोध अन्त्य गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरका थिए । तर सत्तारुढ दलको प्रस्तावलाई प्रतिपक्षी दल माओवादी केन्द्रले अस्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री लगाएत सत्तापक्षीय नेताहरुले गतिरोध अन्त्य गर्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादी नेताहरुसमक्ष आग्रह गरेका थिए । सो क्रममा माओवादी नेताहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने आफुहरुको अडान कायम रहेको जवाफ दिएका थिए ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।
गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरुले भोलि पनि निरन्तरता दिने भएका छन् । बजेटमाथिको छलफल निर्धारण भए पनि संसद बैठक प्रभावित हुने देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया