प्रचण्डलाई विश्वासको मत : पहिला २६८, अहिले १७२
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/03/Prachanda-3.jpg)
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो । त्यस्तै १ सांसद तटस्थ बसेका थिए ।
मतदानमा दुई सय ६२ सांसद उपस्थित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले विश्वासको मत प्राप्त भएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका थिए ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । यसअघिको सत्ता गठबन्धनमा विवाद भएका कारण एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया