आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौं : प्रचण्ड

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताएका छन् ।
‘वर्ल्ड हिन्दू इकोनोमिक फोरम नेपाल च्याप्टर’ले आज आयोजना गरेको ‘बिजिनेस मिट २०२४’लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसकिने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।
नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वाभाविक नभए पनि राजनीतिक परिवर्तन भएको धेरै वर्षसम्म पनि जनअपेक्षित प्रगति नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो ।
उनले अब कुनै पनि बहानामा आर्थिक समृद्धि र विकासलाई पछाडि पार्न नहुने बताए ।अहिलेसम्मका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै नयाँ सङ्कल्पका साथ देश निर्माणमा होमिनै पर्छ, उनले भने ।
मुलुक परिवर्तनका लागि राजनीति र विचारधारा आवश्यक भए पनि हरेक क्षेत्रमा हुने अति राजनीतिकरण नेपालको आर्थिक विकासका लागि बाधक रहेको औंल्याउँदै उनले राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिएर आर्थिक समृद्धि तथा जनताको जीवनस्तर रुपान्तरणमा ध्यान दिनुपर्ने बेला आएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया