सरकारले चार महिनामा ठीक ढंगले काम गरेको नेकपा एमालेको निष्कर्ष, लीलावल्लभ अधिकारीलाई निलम्बन

काठमाण्डौ । नेकपा एमालेले वर्तमान सरकारले चार महिनामा ठीक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्दै सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले दुई राजनीतिक दलबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै समन्वय र प्रभावकारी बनाउन संयन्त्र समेत बनेको अवस्थामा दुईदलबीचको विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
बैठकले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सघाउने निर्णय पनि गरेको छ । एमाले कोशी प्रदेशले शनिबार नै मानव तस्करीको आरोप लागेका अधिकारीमाथि छानबिन गर्न माग गर्दै अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको थियो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए । उनले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ । अधिकारीले जापान जाने युवाहरूबाट १० देखी १३ लाख सम्म रकम असुलेको अनुसन्धान बाट देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया