ललितपुरको लुभुबाट ७ लाख ३० हजार नगदसहित १२ जुवाडे पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कृष्ण थापा, सागर सन्जेल, गणेश दाहाल, रोजिन ठकुरी, गोविन्द कुमार झा, जीवन थापा, सविन थापा, सागर केसी, मनोज वानियाँ र रन्जिता लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजारसहित नियन्त्रणमा लिएको हो ।
तिहार नजिकिएसँगै ललितपुरमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी लागिपरेको ललितपुर प्रहरीका प्रवक्ता, एसपी नवरत्न पौडेलले बताए ।
उनले जिल्लामा जुवा खेलाउने सम्भावित स्थान र व्यक्तिहरूबारे प्रहरीले धेरै सूचना संकलन गरिसकेको जनाउँदै यस पटक जुवातास नियन्त्रण अभियानलाई कडा पारिएको बताए ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया