मुख्यसचिवमा एकनारायण नियुक्त, बोर्ड अध्यक्षमा दिनेश डिसी, एनसेललाई २० अर्ब बुझाउन निर्देशन

काठमाण्डौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए । तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो । मुख्यसचिवमा नियुक्त भएपछि अर्यालले सबैको साथ र सहयोग लिएर निजामति सेवालाई व्यवस्थित बनाउने प्रतिक्रिया दिएका छन् ।
हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् ।
त्यसैगरी एनसेलले दिनुपर्ने २० अर्ब बक्यौता ५ किस्तामा भुक्तान गर्न लगाएर नविकरण प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको हो ।
बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिए पनि दोस्रो, तेस्रो र चौथो किस्ताको रकममा १० प्रतिशत ब्याज लिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यसैगरी चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । तीनजनालाई पछि पार्दै डिसी अध्यक्ष नियुक्त भएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया