संसदमा देखियो एमाले–माओवादी तिक्तता, प्रश्नोत्तरमा प्रधानमन्त्रीसँग माओवादी सांसदको नोकझोक

काठमाण्डौ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा रोचक दृश्य देखिएको छ । सांसदले सोधेको प्रश्न र प्रधानमन्त्रीले दिएको जवाफबीच तालमेल नमिलेपछि बैठकमा नियमापत्ति, निर्देशन, रुलिङदेखि होहल्लासम्म भएको छ ।
सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरेका हुन् । त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको दाबी गरेका थिए । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै दाहालले प्रधानमन्त्रीको कदममाथि प्रश्न उठाएका थिए ।
शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे । डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीले बताए । ६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उनले बताए । ओलीले सभामुखलाई सम्बोधन गर्दै हावादारी कुरा संसदमा नबोलियोस भनेर चेतावनीसमेत दिए ।
प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न आग्रह गरे । ‘हामी गरिमामय संसदमा छौं । हामी जनताले छानेर पठाएका सांसदले त्यस हैसियतमा बोल्नुपर्छ । कहिले सुन होइन पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरि फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ’, ओलीले भने ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् । प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले बजेट र आयोजनाको बारेमा सवाल गरेका थिए ।
तर प्रधानमन्त्रीले जवाफ दिने पालोमा विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोलेका थिए । त्यसपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । प्रधानमन्त्रीले प्रश्न एकतातिर जवाफ अर्कोतिर भएको भन्द्र सांसद पुनले असन्तुष्टी जनाए ।
सभामुखले समय दिएपछि उनले सोधे, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’ त्यसपछि सभामुखले भने, ‘माननीय ज्यू आसनग्रहण गरौं, मैले त्यतै लान कोशिस गरिरहेको छु ।’
तर प्रधानमन्त्रीले आफू प्रश्नोत्तरमै रहेको र उठेका प्रश्नको जवाफ दिइरहेको जवाफ दिए । त्यसपछि संसदमा केही होहल्ला पनि भयो, एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय मागे । तर सभामुखले कसैलाई समय दिएनन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया