Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

यस्ता छन् ओली नेतृत्वको सरकारका २१ जना मन्त्री (पहिलो मन्त्रीपरिषद्को निर्णयसहित)


पञ्चायतकालदेखि मन्त्री बन्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी १३औं पटक मन्त्री बनेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा धेरैपटक मन्त्री बन्ने नेतामा उनी पर्छन् । मधेशको महोत्तरीबाट चुनाब जित्दै आएका भण्डारी सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेतामा पर्दछन् । तर उनले अहिलेसम्म एउटा पनि उल्लेखनीय काम गरेको पाइदैन ।

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।

कांग्रेसका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् ।

नेपाली कांग्रेसका सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष समेत हुन् । खड्का स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का सल्लाहकार समेत हुन् । उनी यसअघि एकपटक राज्यमन्त्री बनेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनी ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् । भट्टराई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिईन् । कास्कीबाट निर्वाचित एमाले सांसद् भट्टराई दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरूङ फेरी संघमा फर्किएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाइएको छ । गुरुङ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित भएपछि माघ २९ मा गण्डकी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । कानुनका ज्ञाता लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो । नेपाली राजनीतिमा शालीन र वैद्धिक नेताको छवि बनाएका लेखकलाई गृह प्रशासनमा खरो उत्रिनुपर्ने चुनौती छ ।

कांग्रेसबाट आरजु देउवा परराष्ट्रमन्त्री बनेकी छिन् । सभापति शेरबहादुर देउवा पत्नी आरजु पहिलो पटक मन्त्री बनेकी हुन् ।

कांग्रेस नेता प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका हुन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष पौडेल युवाहरुले रुचाएका र आशा गरिएका नेता हुन् ।

पहिलो पटक मन्त्री बनेका मानवीर राईलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट चुनाव जितेका उनले एसएलसीसम्म अध्ययन गरेका छन् ।

बलराम अधिकारी भूमि व्यवस्था मन्त्री बनेका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि एमालेले उनलाई सोही मन्त्रालयमा पठाएको थियो ।

दामोदर भण्डारी उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । भण्डारीले पनि प्रचण्ड सरकारमा सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

पहिलो पटक मन्त्री बनेका एमालेका देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै व्यापार पनि गर्छन् ।

कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेका छन् । यसअघि उनी राज्यमन्त्रीसम्म बनेका थिए ।

कांग्रेसका अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसबाट ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् ।

त्यसैगरी कांग्रेसबाटै मन्त्री बनेका रामनाथ अधिकारी कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी पनि पहिलोपटक मन्त्री बनेका हुन् ।

त्यसैगरी कांग्रेसबाटै बद्री पाण्डे पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पनि पहिलोपटक मन्त्री बनेका हुन् ।

जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् । यसअघि प्रचण्ड सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । जसपाकै नवलकिशोर साहले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पहिलो मन्त्रीपरिषद् बैठकको निर्णय :
सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरु अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो । बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ ।

बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । यस्तै बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै  मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।

यस्तै बैठकले बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत प्रदान गर्ने निर्णय पनि गरेको गुरुङले जानकारी दिए ।

यस्तै ०८२ सम्म असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय मन्त्रिपरिषद्ले  गरेको छ ।

यसैगरी कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट निर्माण र प्याराफिट निर्माण ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी बाढी, पहिरोमा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपर्नेका परिवारलाई मृतक सरह राहत दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने र प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए ।

पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए ।

यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए । मन्त्रिपरिषदले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode