विवाद र तोडफोडकाबीच मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त

धनुषा । जनमत पार्टीको अवरोध पछि मधेश प्रदेश सभाको बैठक मंगलबार दोस्रो पटक स्थगित भयो । दोस्रो पटक बसेको बैठकको सुरुमै जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले राजविराज घटनाको छानबिन समिति गठन गर्न सरकार तयार नरहेकाले सदन चल्न नदिने बताए । उनले बोलेपछि जनमतका सांसदहरू नाराबाजी गर्न थालेका थिए । माग पूरा गर्न मुख्यमन्त्री तयार रहेकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । बैठकमै सांसदहरुबीच हानाहानको अवस्था सृजना भएको थियो । यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको छ ।
नाराबाजी गर्दै सभामुख बसेको स्थान र पोडियममा जनमतका सांसदहरूले चढ्ने प्रयास गरेपछि मर्यादापालकसँग धकेलाधकेल भएको थियो । त्यस क्रममा सभामुखले बोल्ने माइक समेत भाँचिएको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासको क्रममा प्रदेशका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव लगायतका सांसदहरूमाथि भएको आक्रमणको घटना छानबिनका लागि जनमत पार्टीले विशेष संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ । सभामुख रामचन्द्र मण्डलले भने प्रदेश मामिला समितिले छानबिन समिति गठन गरी उक्त घटनाको छानबिन गर्न मुख्यमन्त्रीले सहमति गरेको भन्दै विश्वासको मत लिनदिन आग्रह गरेका थिए ।
सभामुखले गरेको आग्रहको बेवास्ता गर्दै जनमत पार्टी प्रदेश सभामा आक्रमक हुँदै संसदीय छानबिन समिति गठन नहुन्जेल मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन नदिने बताएको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो । दिउँसो २ बजे बसेको बैठक जनमतकै विरोधपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । त्यसपछि प्रदेश सभा बैठक साँझ ७ बजे मात्रै बसेको थियो । तर पनि विवाद कायमै रहेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेर हतार हतार बाहिरिएका थिए ।
बैठक स्थगित गरेर सहमतीको प्रयास गर्दा पनि कुरा नमिलेपछि सभामुख रामचन्द्र मण्डलले तेस्रो पटक बैठक बोलाए । उनले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी राखेको प्रस्तावको कारबाही अगाडी बढाउदा जनमत पार्टी र नेपाली काँग्रेसका साँसदहरु बहिष्कार गरे । त्यसपछि बैठक स्थगत गर्न लोसपाले माग राख्यो । तर सभामुख मण्डलले बैठक स्थगन गर्न नमानेपछि लोसपाका साँसदहरु पनि बहिष्कार गरेका थिए । प्रतिपक्षी मुख्य तीन दलको बहिष्कारका बाबजुद मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिएका छन् ।
नेपाली काँग्रेस, जनमत पार्टी र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरे । यद्यपी सभामुख रामचन्द्र मण्डल बैठक चलाए र मुख्यमन्त्री यादव विश्वासको मत पाएको घोषणा गरे । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ६१ र विपक्षमा जिरो मत खसेको सभामुख मण्डलले घोषणा गरे । उनका अनुसार कुल १०७ सांसदमध्ये प्रदेशसभामा ६१ सांसद उपस्थित थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया