रवि लामिछानेको उद्घोष : राजीनामा पत्र झोलामा छ

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिएका हुन् ।
कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणविना बोलेको भन्दै उनले कांग्रेसकै नेता तथा बिज्ञहरुमाझ सार्वजनिक रुपमा यस बिषयमा बहस गर्न तयार रहेको बताए ।
उनले भने– “म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ । म उहाँहरुलाई भन्न चाहन्छु– तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीक छ, जनताको माझमा खुला रुपमा बहस गरौं । तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरु बोकेर आउनुहोला । सबै प्रमाणहरु लिएर आउनुहोला । म एक्लै आउँछु । ”
रास्वपा सभापति समेत रहेका लामिछानेले आफुले यसअघि नै छाडेको संस्थासंग जोडेर आफुलाई बिभिन्न प्रकरणमा मुछ्ने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाबाट भएपनि खोजेरै ल्याउने दावी गरे ।
सहकारी वचतकर्ताको रकम व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट बिश्राम नलिने उनको भनाइ छ ।
त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पारे ।
जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनको भनाइ छ ।
लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफुहरु नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए ।
उनले भने–“काम गर्न सकेनौं भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ । मात्रै मिति लेख्न बाँकी छ । हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौं भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ ।”
उनले आफुहरु जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया