Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत, २६८, १७२ हुँदै १५७


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मतविभाजनका क्रममा जम्मा उपस्थीत २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत प्राप्त भएको थियो । विपक्षमा ११० मत परेको छ । त्यस्तै मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको बिश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । सत्तासमिकरण परिवर्तन भएपछि प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिए । विश्वासको मत पाएपछि प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिएका थिए । त्यसबेला २६८ मत प्राप्त भएको थियो । त्यसको ६२ दिनमा प्रधानमन्त्रीले एमालेसँगको गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहाल पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यसबेला उनले १ सय ७२ मत पाएका थिए । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहेपछि काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो । सोहीकारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिएका हुन् । प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode