आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह

काठमाण्डौ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएको हो ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति , प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायत उपप्रधानमन्त्रीहरु सहभागि थिए । समारोहमा मन्त्रिगण, संघीय संसद् संसदीय समितिका सभापति, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु पनि उपस्थित थिए ।
नेपाली सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन गरिएको छ । हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । परेड तथा तोपबढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम गरियो ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८० वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ लगाएत बिभिन्न प्रतिष्पर्धामा प्रथम, दोश्रो हुनेलाई पुरस्कार प्रदान गरे ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । विसं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया