प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुन अरु दलहरुलाई एमालेको आग्रह

काठमाण्डौ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए । यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए ।
एमालेले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री दाहालसँग सहकार्य थालेको प्रष्ट पारेको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनाएको नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने आज सचिवालय बैठकले निष्कर्ष निकालेको महासचिव पोखरेलले बताए । विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए ।
एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया