च्याम्पियन बनिसकेको स्कटल्याण्डविरुद्व नेपालको सानदार जित
काठमाण्डौ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनरद्धय कुशल भुर्तेलले १६ रन र आसिफ शेखले ९ रन बनाए । ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले ६ रन बनाए । कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो नै सर्वाधिक धेरै रन हो ।
सन्दीप जोराले ५ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए । दिपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् । विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो ।
गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए ।
स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३–३ विकेट लिए । स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।
सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
शीर्ष तीन टोली सोझै विश्वकपको ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया