Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

लेले सरस्वती कुण्डमा श्रद्धालुको घुईँचो


ललितपुर । गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएकोे वडा नं ५ का वडाध्यक्ष मिलन सिलवालले जानकारी दिए । उनका अनुसार “मन्दिरमा बिहान ४ बजेदेखि साना बालबालिकाका साथै वृद्धवृद्धासमेत सही ज्ञान आर्जन र विद्या प्राप्तिको कामना गर्दै दर्शन गर्न आएका छन् । छिमेकी गाउँ बडिखेल, झरुवारासी, साबिकको गोदावरी, नल्लु, भारदेउका साथै काठमाडौँ र भक्तपुरबाट पनि सरस्वतीको आराधना गर्न भक्तजन लेले आएको सिलवालले जानकारी दिए ।

लेले सरस्वती कुण्डको पानी बालबालिकालाई खुवाएपछि बोल्न नजान्नेको वाक्य फुट्ने र पढ्न नजान्नेको पढाइमा सुधार हुने धार्मिक विश्वास रहेका छ । मन्दिरमा साना बालबालिकालाई ल्याएर सात गेडा नकाटिएको अक्षताका साथै कुण्डको जल खुवाउँदा वाक्य फुट्ने अनि बाधा हट्ने मान्यता पनि रहेको छ । मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा चोरीलगायत विभिन्न नराम्रा क्रियाकलाप रोक्न ज्ञानकुण्ड युवा क्लबका स्वयंसेवक ,सुरक्षाकर्मीका साथसाथै स्काउटहरु परिचालन गरिएको छ ।

परापूर्वकालमा बृहस्पति ऋषिले सो स्थानमा बसेर तपस्या गर्दा तिलेश्वर महादेव उत्पत्ति भई माता सरस्वतीको आह्वान गर्न लगाएपछि ऋषिले सरस्वतीको आह्वान गर्दा सरस्वती जलका रुपमा उत्पत्ति भई बसेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सरस्वती कुण्ड परिसरमा विसं १८७६ मा लेखिएको एक शिलालेखमा काठमाडौँ फर्पिङका आचार्यले सो मितिमा लेले आई कुण्डको लेउ सफा गरेको कुरा उल्लेख छ । लेले तिलेश्वरमा सरस्वती कुण्डका साथै तिलेश्वर महादेव मन्दिर, गङ्गाजमुना पोखरी, गणेश, कुमार, नवदुर्गालगायत मूर्ति पनि छन् । सो मन्दिर पुग्न लगनखेलबाट चापागाउँ हुँदै लगभग १६ किलोमिटर दूरी पार गर्नुपर्छ । लेले चारैतिर हरिया डाँडाले भरिएको क्षेत्र हो । क्षत्री, तामाङ, नगरकोटीको बसोबास रहेको लेले शहर ललितपुरको एक प्रसिद्ध स्थान मानिन्छ

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode