लामो भाषण गर्नेलाई देउवाको झापड

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले लामो भाषणले उपलब्धि नहुने बताएका हुन् । भाषण सुन्ने मानिसहरु नहुँदा पनि नेताहरु भाषण गरिरहेको देखिएको बताए । उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।
उनले थपे मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो ।
सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए । काठमाडौं देशको राजधानी भएकाले राम्रो काम गर्नुपर्ने भएकाले राम्रो काम गर्न सुझाव दिए ।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले चिनेका पात्रहरुबाटै संविधानमाथि प्रहार भइरहेको भन्दै कांग्रेसले त्यसको प्रतिकार गर्नुपर्ने बताए । संविधान मानेको जस्तो गर्ने र निर्वाचनमा पनि भाग लिने राजनीतिक दलहरुले व्यवस्थामाथि धावा बोल्दा कांग्रेसले टुलुटुलु हेरेर बस्न नमिल्ने उनको भनाई छ ।
त्यस्तै कांग्रेसका अन्य नेताहरुले पार्टीलाई चलायमान बनाउदै प्रभावकारी काम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया