इतिहासले सम्झिने गरी साहसिक काम गरेको प्रधानमन्त्रीको जिकिर
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको दावी गरेका छन् । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जनतामा सकारात्मक सोचको बिकास भएको र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् ।
उनले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको भन्दै सरकारले इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको धारणा राखे । नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको उनले बताए ।
उनले सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको पनि बताए । प्रधानमन्त्री दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया