एमालेको ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।
ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७ सय ५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिएका छन् । जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, बागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेका छन् । द्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाइ, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनः निर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषयहरू पनि जनताको प्राथमिकतामा रहेको छ ।
यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनीहरुको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताएको जानकारी उनीहरुले दिए । ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायत विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया