सिंहदरबार वैद्यखाना आफैं विरामी कसले गर्ला उपचार

काठमाडौं । दक्षिण एसियाकै पूरानो सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो । वि।सं। १६९८ देखि १७३१ सम्म राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्न वैद्यखाना स्थापना भएको थियो । शाहकालमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारियो । वैद्यखानालाई पछि चन्द्र शमशेरले सिंहदरबारमा सारेपछि यसको नाम नै ‘सिंहदरबार वैद्यखाना’ राखियो ।
२०५२ देखि बिकास समितिबाट सिंहदरबार बैद्यखाना सञ्चालित छ । तर, आयुर्वेदिक औषधि उत्पादन गर्ने बैद्यखाना थला परेको अर्को छेउमै रहेको सिंहदरबारले देखेर पनि नदेखे झै गरिरहेको छ । सिंहदरबार वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १ सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरेको तथ्यांक विगतको फाइलमा भेटिदा अहिले ११ थरी औषधिमा सिमित भएको छ । आयुर्वेदिक औषधि उत्पादन मात्रै होइन वैद्यखानाले आयुर्वेदिक उपचार सम्बन्धी सल्लाह पनि दिनुपर्ने हो । तर, सिंहदरबार बैद्यखानालाई नै सुधार गर्न राज्यका कुनै निकायले तदारुकता देखाएका छैनन् ।
करिब चार सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानामा विगतमा औषधि लिने र परामर्शका लागि आउनेहरुको लाइन नै लाग्ने गदथ्यो । सिंहदरबार बैद्यखानामा उत्पादित चेवनप्रास, सिलाजित, त्रिफला चूर्ण, षडविन्दु तेल, गुगुल, मिनिया लगायतका औषधि ग्राहकको मागलाई धान्नै गाह्रो पर्दथ्यो । तर, यतिबेला सिंहदरबार बैद्यखानामा औषधि उत्पादन लगभग ठप्प जस्तै छ । जसका कारण बैद्यखानाको इतिहास मेटाउने प्रपञ्च चलिरहेको छ । आयुर्वेदिक औषधि उत्पादनका लागि अत्यावश्यक जडिबुटीको टेन्डरमै किचलो चलिरहेको छ । बर्षौदेखि कर्मचारी आन्दोलनमै छन् । संस्था नेतृत्वविहीन चलिरहेको छ ।
बैद्यखाना विकास समिति गठन आदेश २०७७ अनुसार प्रवन्ध निर्देशकमा आयुर्बेद समूहको ११ औं तहको अधिकृत नियुक्ती गर्ने प्रावधान छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूखुसी ९ औं र दशौं तहका कर्मचारी निमित्त कार्यकारी निर्देशक बनाएर पठाउने गरेको छ । नेतृत्व विवादकै कारण सिंहदरबार बैद्यखाना झनै खस्किरहेको छ । वैद्यखाना परिसरको गेटै बाहिर थुप्रै आयुर्वेदिक औषधि पसल छन् । जहाँ ‘सिंहदरबार वैद्यखानाको औषधि पाइन्छ’ भनेर बोर्ड झुण्ड्याइको छ । तर, उपभोक्ताले खोजेको औषधि बैद्यखानाले उत्पादन नै गर्न छाडिसक्यो ।
वार्षिक ५ करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने वैद्यखानाको लक्ष्य केही वर्षयता ओरोलो लाग्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०७४र७५ मा ५ करोड ५४ लाखको औषधि बेचेको वैद्यखानाले २०७७र७८ मा २ करोड ६८ लाख ६२ हजारको मात्रै औषधि बिक्री गरेको छ । जडिबुटी खरिद प्रक्रिया दुई वर्षदेखि बढ्न नसक्दा उत्पादन र बिक्रीको दर पनि घटिरहेको छ । अर्कोतर्फ वैद्यखाना पुरानै संरचना तथा उपकरणको भरमा चलाउने कोशीस भइरहेको छ । विगतमा नेपाली बजारमा सिंहदरबार बैद्यखानाकै आयुर्बेदिक औषधि छ्याप्छाप्ती हुन्थ्यो । तर, अहिले उत्पादन र बिक्रीको व्यवस्थित योजना नबनाइँदा बजारमा भारतीय कम्पनीहरुको नै जगजगी छ । नेपालमा करिब ५० वटा आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग छन् ।
नेपाली बजारमा करिब वार्षिक ६ अर्ब रुपैयाँको आयुर्वेद औषधि कारोबार हुँदै आएको छ । जसमा ४ अर्ब रुपैयाँभन्दा बढी भारतीय कम्पनीकै बजार छ । २ अर्बभन्दा कम मात्रैको बजार नेपाली कम्पनीका उत्पादनले धानेका छन् । हरेक वर्ष १० करोड रुपैयाँभन्दा बढी आयुर्वेद औषधि उत्पादनको क्षमता भएको वैद्यखानामा अहिले वर्षमा एक करोड रुपैयाँ बराबरको उत्पादन पनि भएको छैन । पछिल्लो छ महिनादेखि त वैद्यखानाले औषधि नै उत्पादन गर्न सकेको छैन । कति प्रकारको औषधि उत्पादन हुन्छ भन्ने प्रश्नमा कर्मचारी नै अनविज्ञ छन् । बैद्यखानाका मेसिन बन्द छन । कर्मचारी हाजिर गरेरै दिन कटाउने गरेका छन ।
गत बर्ष साउन २४ देखि कर्मचारी कल्याण कोषको लागि आन्दोलनरत छन् । ६४ जनाको दरबन्दी रहेको वैद्यखानामा हाल ४२ जना स्थायी कर्मचारी छन् । तीनरचार महिनासम्म तलव नै रोकिने गरेका कारण काम गर्न समेत जाँगर छैन । एउटा इतिहास बोकेको सिंहदरबारको अवस्था कन्तविजोग हुँदा समेत छेउमै रहेको सिंहदरबारले देखेको छैन । पूर्खाले बनाइदिएको एउटा आयुर्बेद औषधि उत्पादन गर्ने थलोको अस्तित्व मेटाउन खोज्नेको पहिचान गर्न अव ढिला गर्नु हुन्न ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया