‘तेस्रो ब्राइट फ्युचर भ्याली वाइड’ हाजिरीजवाफ आयोजना गर्दै ब्राइट फ्युचर
ललितपुर । उपत्यकाव्यापी रूपमा विद्यार्थीहरूको बौद्धिक क्षमता र तार्किक कुशलता मापन गर्न ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले आगामी २०८३ असोज ३ र ४ गते तेस्रो ब्राइट फ्युचर भ्याली वाइड अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न लागेको हो । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने र विभिन्न शिक्षण संस्थाहरूबीच भ्रातृत्वको सम्बन्ध विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वासुदेव कोइरालाले जानकारी दिए ।
कसले भाग लिन पाउने ?
यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । आयोजकका अनुसार एउटा विद्यालयबाट अधिकतम तीनवटा समूहले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् भने प्रत्येक समूहमा ३ जना विद्यार्थी हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयले आगामी असोज १ गतेभित्र दर्ता प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूका लागि आकर्षक नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको छ ।
प्रथम पुरस्कारः २०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र ।
द्वितीय पुरस्कारः १२,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र।
तृतीय पुरस्कारः ८,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र।
सान्त्वना पुरस्कार (चौथो)ः ४,००० नगद, ट्रफी र प्रमाणपत्र।
प्रतियोगितामा भूगोल, इतिहास, राजनीति, विज्ञान तथा प्रविधि, खेलकुद, साहित्य, कला, संस्कृतिदेखि ’फिफा विश्वकप २०२६’ सम्मका विषयहरू समेटिनेछन् । प्रतियोगिता नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गरिनेछ । पहिलो दिन लिखित छनोट चरण हुनेछ भने उत्कृष्ट ३२ टोलीहरूले मात्र अघिल्लो चरणमा प्रवेश पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूले प्रति टिम १५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । दर्ता शुल्क खल्ती÷ईसेवा वा बैंकमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ । शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी स्व–अभिव्यक्ति र स्वतन्त्रताको माध्यम बनाउने संकल्पका साथ ब्राइट फ्युचरले यो कार्यक्रमलाई विशेष महत्व दिएको छ । उपत्यकाका प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहने यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : खेलकुद, शिक्षा/स्वास्थ्य









प्रतिक्रिया