Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

संसदीय समितिमा बालकुमारी घटनाको मन्थन, तीन जना मन्त्रीमाथि प्रश्नै प्रश्न


काठमाण्डौ । ललितपुरको बालकुमारीमा प्रहरी दमनमा दुई युवाको मृत्यु भएको विषयले संसदीय समितिमा चर्काचर्की भएको छ ।
घटना भएको ३ दिनपछि सोमबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर सोधपुछ गरेका सांसदहरुले राजीनामासमेत माग्न भ्याए ।
छानबिन र कारबाही तलका मानिसलाई मात्रै भएको भन्दै एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् । युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्ने गृहप्रशासनको नेतृत्वकर्ताले राजीनामा नदिएर कसले दिन्छ भन्दै सांसद् राइले प्रश्न गरेका छन् ।

बैठकमा रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले पनि घुमाउरो शैलीमा गृहमन्त्रीको राजीनामा मागेका छन् । उनले बालकुमारीमा गृहप्रशासनले नै दुई युवाको हत्या गरेकाले उच्च राजनीतिक नैतिकता प्रदर्शन गर्न गृहमन्त्रीलाई सुझाव दिएका छन् । उनले ‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? भन्ने विषयमा पनि गोलमोटोल जवाफ दिएको भन्दै गृहमन्त्री र आइजीपीको पनि आलोचना गरे ।

सत्ता साझेदार दलका सांसद्हरुले पनि बालकुमारी घटनालाई लिएर मन्त्रीहरुको विषयमा प्रश्न गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटनामा तीन जना मन्त्रीमाथि छानबिन गर्नुपर्ने आवाज उठाएका छन् । उच्चस्तरीय न्यायिक आयोग गठन गरेर गृहमन्त्री श्रेष्ठसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि पनि छानविन हुनु पर्ने सांसद् थापाको माग छ ।

सांसद्हरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवारीकै कारण बालकुमारी घटना भएको बताएका छन् । उनले घटनामा जो सुकै दोषी देखिए पनि कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भने बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको भए अवस्थामा थप गम्भीर बन्न सक्ने जवाफ दिएका छन् । उनले टाइमलाइन र घटनाको विवरण बारे बताउँदै गोली चलेको विषयमा भने छानविनबाट नै थाहा हुने प्रष्टिकरण दिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode