नौ करोड अकुत सम्पत्ति भएका मालपोतका पियनलाई सफाइ
ललितपुर । मालपोत कार्यालय चाबहिलका ‘डन’का रुपमा परिचित तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेत अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । बिशेष अदालतले उनलाई सफाइ दिने फैसला आइतबार गरेको हो ।
आठ करोड ९८ लाख ५८ हजार अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध चार वर्षअघि मुद्दा दायर गरेको थियो । पद पियन भएपनि मालपोत कार्यालयमा उनले सबै सेटिङ मिलाउने काम गर्दथे । पैसाकै आडमा मालपोतका हाकिम समेत आफु अनुकुल सरुवा गर्दथे । उनै बस्नेतले अकुत सम्पत्तिको मुद्दामा सफाइ पाएपछि कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् ।
अख्तियारले उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनीहरुले पनि सफाइ पाएका छन् । निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो। त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो।
आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया