दिनरात खटिरहेको प्रधानमन्त्रीको दाबी

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफु दिनरात खटिरहेको बताएका छन् । बुधबार काभ्रेपलाञ्चाकको पाँचखालमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् । उनले अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको बताए । आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए ।
प्रधानमन्त्रीले पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको जानकारी दिए । इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने परियोजनाको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया