नेपाली वायुसेवाहरुलाई युरोपियन युनियनले १० वर्षदेखि लगाएको उडान निषेध कायमै
काठमाण्डौ । नेपाली वायुसेवाहरुलाई युरोपियन युनियन (ईयू) ले आफ्ना सदस्य मुलुकहरुमा १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिने भएको छ । युरोपियन युनियनले नेपालमा स्थलगत अवलोकन तथा मूल्यांकन गरेर तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची (कालोसूची) लाई निरन्तरता दिने जनाएको हो ।
ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलायन्सको स्थलगत अवलोकन तथा मूल्यांकन गरेका थिए । त्यसैको सुनुवाइका लागि कात्तिक २८ देखि ३० गतेसम्म ब्रसेल्समा यी तीनवटै निकायका प्रतिनिधिहरुलाई राखेर सुनुवाइ गरेको थियो । यी दुई अडिटका आधारमा ईयूले प्राधिकरण, बेल्जियममा रहेको नेपाली दूतावाससहित सरोकारवालालाई प्रतिवेदनको सार पठाउँदै नेपाललाई सुरक्षा सूचीबाट तत्काल हटाउन नसक्ने जनाएको हो ।
ईयूले प्राधिकरणलाई एकीकृत कार्ययोजना बनाउनुका साथै समय समयमा प्रगति विवरण बनाई पेस गर्न भनेको छ । सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया