लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयासका लागि संवेदनशील हुन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना दिँदै उनले संघीय संरचनाअनुसार तीनै तहका सरकारमा लैंगिक हिंसाविरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई संस्थागत गर्न आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले लैंगिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नभएसम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने तर्क गरेका छन् ।
यसैगरी लैंगिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरूका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मर्मअनुरूप कानुन निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रम अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया