Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौंमा कडा सुरक्षा प्रबन्ध, ड्रोनबाट पनि निगरानी गरिने


ललितपुर । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको हो।

सुरक्षाकर्मी परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ। कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय [डीजीएमआई ] का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहने बताइएको छ।

आज बिहानैदेखि काठमाडौंका चोक(चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन्।

युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन्। त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ। प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्‍याली निकाल्ने तालिका सार्वजनिक गरेको छ। यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ।

जुलुसले रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको छ। जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन्। साथै सीसीटीभी फुटेजबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ। बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने प्रहरी तयारी छ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा करिब १ हजार ट्राफिक प्रहरी परिचालित हुनेछन्। उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ।

विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई १०० वा १०३ नम्बरमा फोन गरी वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode