Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

पाटन अस्पतालमा मृत्यु प्रकरणः ओपीडी सेवा ठप्प


ललितपुर । प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाको सत्यतथ्य विवरण संकलन गरी अनुसन्धानको काम भइरहेकाले स्वास्थ्य सेवा ठप्प नपार्न अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई आग्रह गरेका हुन् ।

शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना बिरामीको मृत्यु भएको थियो । ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तको दाबी छ ।

दुवै जनाको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीमाथि लापरबाही गरेको आरोप लगाउँदै ड्यूटीमा खटिएका चिकित्सक र नर्समाथि दुर्व्यवहार गरिएको भन्दै चिकित्सकहरूले सोमबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको ३ दिन बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही नभएको भन्दै स्वास्थ्य सेवा चिकित्सकहरूले ठप्प पारेका हुन् । मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट, दुर्व्यवहार र ज्यान मार्ने धम्की दिई स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्‍याउने गतिविधि गरिएको अस्पतालको दाबी छ । यस्तै, नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

संघले ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, ज्यान मार्ने धम्कीप्रति आपत्तिसमेत जनाएको छ । ज्येष्ठ नागरिकहरूको मृत्युबारे अनुसन्धान गरी त्रुटि भएको फेला परेमा कानुन अनुसार कारबाही माग गर्दै संघका महासचिव डा सञ्जीव तिवारीले डाक्टर तथा नर्समाथि आक्रमण र कुटपिट निन्दनीय भएको जनाएका छन् ।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode