जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, भारतको आश्वासन, चीनको १० करोड सहयोग

जाजरकोट । जाजरकोट जिल्लाको रामिडाँडामा शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले पछिल्लो समय गरेको अध्यावधिक विवरण अनुसार भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् । दुबै जिल्लामा घाइते भएकामध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन् ।
गम्भीर घाइतेमध्ये केहीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने केहीलाई काठमाण्डौका विभिन्न अस्पताल पुर्याइएको छ । अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । भूकम्पका परेकाहरुलाई उद्धार गर्न भन्दै विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट पुगेका थिए । उनले उद्धार, उपचार र राहतका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेको जानकारी दिए ।
भूकम्पबाट घाइते भएकाहरुको खोजी, उद्दार, उपचार र राहतमा तीनवटै सुरक्षा निकाय परिचालन भएका छन् । सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सवै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो । राहतका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड रुपैयाँ पठाइएको छ ।
सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको छ । स्थानीयस्तरमा उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्ने सरकारको आश्वासन छ ।
यसैबीच, भूकम्प पीडितको उपचार, राहत र उद्दारका लागि बाग्मति प्रदेश र लुम्बिनी प्रेदश सरकारले समान १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश सरकारले समान १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि खटिन अपिल गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको मोदीले उल्लेख गरेका छन ।
चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया