Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

चेतन मानन्धरको हत्यारा रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश


काठमाण्डौ । सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ । बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

आदेशमा संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने भनिएको छ । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबार र बुधबार सुनुवाइ निर्धारण भएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसनसमेत बसेकी थिइन् ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode