९ जनाको हत्या गरेको बताउने सञ्जय भण्डारी जेल चलान, जीवनभर कैदमा राख्न माग दाबी

काठमाण्डौ । गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।
भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावी लिइएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भण्डारीविरुद्ध बिहीबार साँझ मुद्दा दर्ता गराएको हो । घटनाका सम्बन्धमा आरोपित सञ्जय भण्डारीले कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई जीवनभर कैदमा राख्न माग दाबी लिई बिहीबार मुद्दा दर्ता गरिएको हो । गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो ।
घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो । भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् ।
भण्डारीले बहिराप्रति गरिने सामाजिक विभेदका कारण रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको बयान दिएका छन् । प्रहरीले भने उनले संलग्न रहेको भनेका अरु घटनाको प्रमाणीकरण गर्न समय पर्याप्त नभएको भन्दै थप अनुसन्धान गर्ने बाटो खुलै राखेर प्रतिवेदन बुझाइएको बताएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया