सुपथ मूल्य पसल सञ्चालनमा, चिनी २ किलो मात्रै

काठमाण्डौ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुभारम्भ गरेका हुन् ।
उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् । पछिल्लोे समय अभाव, मूल्यवृद्धि र कालोबजारी भइरहेको चीनको भने सुपथ मूल्य पसलमा पनि अभाव छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरेको छ । तर अभाव कायमै छ । प्रतिव्यक्ति २ केजीभन्दा धेरै दिएको छैन ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्री रिजालले बताए । उनले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ पारदर्शी एवं प्रतिष्पर्धी बनाउदै गुणस्तरीय बस्तु तथा सेवामा उपभोक्ताको पहँुच पुराई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे । सरकारले अहिले संयुक्त बजार अनुगमनको कार्ययोजना तयार गरि निरन्तर बजार अनुगमन गरिरहेको उनको भनाई छ । अनुगमनका क्रममा उपभोक्ताको अधिकार र हित बिपरितको कार्य गर्नेलाई सरकारले निर्मम भएर कारवाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरणको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । उपत्यका बाहिर झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङ लगाएतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, तेल लगाएतका खाद्य सामाग्रीहरुमा छुट पाउने व्यवस्था समेत गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया