धरानमा स्वधर्मको रक्षाको आह्वान गर्दै प्रदर्शन, मानव अधिकार आयोगको चिन्ता
धरान, ललितपुर । पछिल्लो समय सुनसरीको धरानमा विवाद भइरहेको छ । केही व्यक्तिले गोरु काटेर खाएपछि सुरु भएको विवादले उग्र रुप लिँदा आज निषेधाज्ञा नै गर्नुपरेको छ । नियम विपरित गोरु काटिएको भन्दै हिन्दु धर्म मान्नेहरुले आज विरोध प्रदर्शन गर्ने भएपछि समाजिक सद्भाव खलबलिने आशंकाले निषेधाज्ञा गरेर सुरक्षार्कीको बाक्लो उपस्थिती गराएको छ । यद्यपी निषेधाज्ञा क्षेत्रबाहिर स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति ¥याली निकालेका छन् ।
जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । इटहरीबाट धरान जाने सर्वसाधरण तथा आन्दोलनकारीहरुलाई रोक लगाएको छ ।
यता राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्ने भन्दै आयोगले संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोगले अपिल गरेको हो ।
एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह समेत गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज ¥याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ–‘नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात् गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ ।’
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया