जलहरी राख्दा केपी ओलीले अनियमितता नगरेको प्रधानमन्त्री प्रचण्डको जवाफ
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्दै पशुपतिनाथमा जलहरी राख्दा कुनै विवाद नभएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जोडेर विवादमा ल्याउनु उचित नभएको उनको भनाई छ ।
पशुपतिमा जलहरी राख्नेलगायतका काम पशुपति विकास क्षेत्रले गरेकाले अरु कसैलाई विवादमा ल्याउन नहुने दाहालको भनाई छ । जलहरीका विषयमा अख्तियारले छानबिन गरिरहेको जानकारी दिँदै उनले अख्तियार स्वतन्त्र र विष्पक्ष छानबिन गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि आज विहान प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको थियो । सिंहदरबारमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताबीच भएको छलफलमा प्रधानमन्त्रीले संसदमा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको थियो । जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति पनि भएको थियो ।
यसअघि सुनको जलहरीका बिषयमा सत्तापक्षका सांसदले तथ्यहीन आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया