सुन कि पित्तल ? संसदमा हंगामा, प्रतिवेदनमा आशंका

काठमाण्डौ । सत्तासिन माओवादीका सांसदले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएकोमा आपत्ति जनाउँदै एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभा बैठकमा नारावाजी गरे । एमाले सांसदको नारावाजीका कारण बैठक अवरुद्ध भयो ।
शुक्रबार बसेको बैठकको सुरुमै एमाले सांसदहरुले सत्तापक्षका सांसदहरुले सदनमा नियोजित रुपमा एमालेमाथि भ्रष्टचारको आरोप लगाएको भन्दै नारावाजी सहित वेल घेराउ गरेपछि बैठक अवरुद्ध भएको हो । एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदले रोष्ट्रममा उभिएर पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै आपत्ति जनाए ।
पशुपतिको गजुरमा सुनको ठाउँमा पित्तल लगाएको छ भने छानबिन हुनुपर्ने र सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई गैरजिम्मेवारीपूर्वक आरोप लगाउने सांसदले माफी माग्नुपर्ने बताए । त्यस्तै एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफुहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैर जिम्मेवार रहेकाले विरोध गर्नुपरेको धारणा राखे । प्रमुख प्रतिपक्षी दलका नेतामाथि सदनमा गम्भीर प्रश्न उठेपनि यो आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने उनको भनाई छ ।
एमाले विरोधकाबीच सभामुख देवराज घिमिरेले माओवादी सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा जलहरी सुन भनेर पित्तल चढाएको आरोप लगाएका थिए ।
उता पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको महालेखा परीक्षणको कार्यालयले जारी गरेको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनमा ‘जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन’ भन्ने उल्लेख छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया