Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

शरणार्थी प्रकरणमा रकम संकलनमा सहयोग गरेका हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ


काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेका हुन् ।

उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनी कागजपत्रसहित पक्राउ परेका हुन् । हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीमार्फत प्रकरणका विचौलियाहरुसँग जोडिएका मियाँले आफूले प्रयोग गर्ने गरी गृह मन्त्रालयबाट लिएको गाडी ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई दिएका थिए ।

बीएबी १४०५ नम्बरको उनको गाडीमा भण्डारी, दुलालहरुले चितवनसहित विभिन्न स्थानमा पुगेर पीडितहरुसँग रकम उठाएका थिए । कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई लगेर गणनामा छुट शरणार्थीको फारम उनीहरुले भराएका थिए ।

उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । उनलाई आजै अदालत उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode