जेलभित्रै पुस्तक लेखिरहेका रेशम चौधरीले भने–मन विचलित छैन

काठमाण्डौ । सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि जेलमा रहेका रेशम चौधरीले फैसलालाई सम्मान र स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । एक लिखित विज्ञप्ति सार्वजनिक गर्दै चौधरीले अदालतले गरेको फैसला आफूप्रति न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने वा नगर्ने स्पष्ट भनेका छैनन् । सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् । ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन् । चाँडै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने उनले बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया