सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाण्डौ । सरकारले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधिश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहने प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।
आयोगले सुन तस्करीको नियन्त्रण गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न आयोग गठन गरिएको उनले बताइन । प्रवक्ता शर्माले सरकारका निकायहरुले गरेको छानविनलाई पनि आधार मानेर आयोगले काम गर्ने उनले बताइन ।

मन्त्रिपरिषद बैठकअघि दलहरुबीच सुन तस्करी प्रकरणमा थप छानबिन र अनुसन्धान गर्नेगरि जाँचबुझ आयोग बनाउने सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र प्रतिपक्ष दलको बैठकमा विद्युतिय चुरोट, ब्रेक सु लगायतमा भएको सुन तस्करीको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन गर्ने गरि आयोग बनाउने सहमति भएको हो । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र कार्यावधि ३ महिनाको हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसअघि भएको सहमति अनुसार असाजे ५ गते जाँचबुझ आयोग बनाउने निर्णयअनुसार नै जाँचबुझ आयोग बनाउने सहमति भएको बताए । उनले सरकारका निकायहरुले गरेका अनुसन्धानलाई पनि लिने र नपुगेको भए थप गरेर अघि बढ्न सक्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघि दलहरुबीच भएको सहमति अनुसार नै कार्यादेश हुने जिकिर गरे । अहिले आयोगको समयावधि तीन महिनाको हुने र आवश्यक परे म्याद थप गर्न सकिने उनले बताए ।
क्याटेगोरी : देश
प्रतिक्रिया