नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई हटाएर नयाँ सरकार गठनको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका छन् ।
एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ । संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।
रीटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया