Techie IT
  • १२ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

केही नेताले पार्टी छोड्दैमा एमाले विचलित हुँदैन : हर्कबोल राई


ओखलढुङ्गामा अस्मिता थापाको जित सुनिश्चित, निर्वाचन अभियान तीव्र

ओखलढुङ्गा । नेकपा (एमाले) ओखलढुङ्गाका नेता तथा संविधानसभा सदस्य हर्कबोल राईले केही व्यक्तिले पार्टी छोड्दैमा एमाले कमजोर नहुने स्पष्ट पारेका छन्। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई मन परेको पार्टी रोज्ने अधिकार भए पनि पार्टी छोडेपछि अतिरञ्जित हल्ला फैलाउनु सरासर गलत भएको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै राईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जिल्लामा पार्टी काम गरिरहेका जिल्ला कमिटी सदस्यहरूको नाम बदनियतपूर्वक सामाजिक सञ्जालमा टाँसिनु निन्दनीय कार्य भएको उल्लेख गरेका छन्। बदनियतपूर्वक सार्वजनिक गरिएको सूचीमध्ये आधाभन्दा बढी (२० जनाभन्दा बढी) ले सार्वजनिक रूपमा असहमति जनाउँदै आफ्नो नाम फिर्ता लिइसकेको र बाँकीको प्रक्रिया जारी रहेको उनको दाबी छ।
एमालेको राजनीतिक यात्रामा धेरै आरोह–अवरोह आएको स्मरण गराउँदै राईले संस्थापक नेताहरूले पार्टी छोड्दा पनि एमाले निरन्तर अगाडि बढिरहेको बताए। “ओखलढुङ्गाका केही साथीले पार्टी छोड्दैमा ओखलढुङ्गे एमाले बिचलित हुनुपर्ने कुनै राजनीतिक कारण छैन,” उनले स्पष्ट पारेका छन्।
उनका अनुसार एमाले निर्माणमा माथिल्लो तहदेखि भुइँतहसम्मका नेता–कार्यकर्ताको बराबरी योगदान रहेको छ। विशेषगरी तल्लो तहका कार्यकर्ताको योगदानकै जगमा ओखलढुङ्गा एमाले मजबुत रूपमा अघि बढिरहेको उनले बताए। हाल जिल्लामा निर्वाचन अभियान द्रुत गतिमा अगाडि बढिरहेको पनि उनले उल्लेख गरेका छन्।
आन्तरिक लोकतन्त्रको अभ्यासको क्रममा देखिएको अहंकार, दम्भ र एकल नायकवादको अन्त्य स्वाभाविक रूपमा दुखद हुने उल्लेख गर्दै राईले अब कुनै भ्रम, सन्देह वा संशयमा बस्नुपर्ने अवस्था नरहेको बताए। “हिजोका अध्याय हिजै समाप्त भएका छन्, दोहोरिन नदिने जिम्मेवारी हामी सबैको हो,” उनको भनाइ छ।
देश र जनताप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आगामी निर्वाचनमा नेकपा एमालेको जित आवश्यक रहेको उल्लेख गर्दै उनले युगको माग, युवाको चाहना, आधा आकाश र आधा धर्ती ओगट्ने आमा–महिला–दिदीबहिनीहरूको प्रतिनिधित्व तथा पुस्तान्तरणको आवश्यकता सम्बोधन गर्दै एमालेले जेन्जी पुस्ताकी नेतृ अस्मिता थापालाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी अस्मिता थापालाई विजयी बनाउन सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दै राईले अस्मिता थापाको जित सुनिश्चित रहेको दाबी गरेका छन्। साथै, उनले अस्मिता थापालाई अग्रिम विजयको शुभकामना समेत व्यक्त गरेका छन्।

क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode