Techie IT
  • १२ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ओखलढुंगामा कटुवालको कमब्याक, चुनावबाटै पार्टीमा फर्किने घोषणा


ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका पूर्व जिल्ला अध्यक्ष शंकर कटुवालले दुई वर्षको निष्क्रियतापछि पुनः पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको अभियानमा होमिने बताएका छन्।

दुई वर्षअघि एमालेको १०औं जिल्ला अधिवेशनका क्रममा तत्कालीन नेता अम्बिरबाबु गुरुङ पक्षबाट मानसिक दबाब सिर्जना गरी एकलौटी निर्णय गर्न खोजिएको आरोप लगाउँदै कटुवालले जिल्ला कमिटीबाट राजीनामा दिएका थिए र त्यसयता निष्क्रिय थिए।

हाल काठमाडौंमा बुबाको उपचारमा रहेका कटुवालले आइतबार विज्ञप्ति जारी गर्दै चुनावी माहोलमा पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा आफू ‘रक्षाकवच’ बनेर उभिनुपर्ने आवश्यकता महसुस गरेको बताए। जिल्लाको वर्तमान नेतृत्वबाट पार्टीमाथि घात भएको उल्लेख गर्दै उनले जिम्मेवार सदस्यका रूपमा टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे।

विज्ञप्तिमा उनले अधिवेशनपछिका निर्णय अधिकार कुण्ठित गरिनु, आरोप–प्रत्यारोप र दबाबका कारण काम गर्न असहज वातावरण सिर्जना भएपछि राजीनामा दिनुपरेको बताएका छन्। तर अहिलेको राजनीतिक परिस्थितिले पुनः सक्रिय हुन बाध्य बनाएको उनको भनाइ छ।

अम्बिरबाबु गुरुङ नेकपामा प्रवेश गरी उम्मेदवार बनेसँगै उनको पक्षबाट निर्वाचित पदाधिकारीहरू पनि पार्टी छाडेपछि आफू निष्क्रिय बसिरहनुको औचित्य नरहेको निष्कर्षमा पुगेको कटुवालले उल्लेख गरेका छन्।

उनले एमाले ओखलढुंगालाई सुदृढ बनाउन र पार्टीकी उम्मेदवार अस्मिता थापालाई जिताउन आफू पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ठूलाछाप गाविसका पूर्व अध्यक्षसमेत रहेका कटुवाल जिल्लामा लोकप्रिय र इमानदार नेताका रूपमा परिचित छन्।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode