१६५ क्षेत्रमा ३,४८६ उम्मेदवारी, सबैको विवरण सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) अनुसार उम्मेदवारले मनोनयनपत्रसँगै पेस गरेको व्यक्तिगत विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेकाले आयोगले सबै उम्मेदवारको विवरण सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको पृष्ठभूमि र विवरण मतदातासमक्ष ल्याउनु आवश्यक भएकाले यो जानकारी सार्वजनिक गरिएको हो। यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारबारे आवश्यक जानकारी लिन सहज हुने आयोगको विश्वास छ। उक्त विवरण आयोगको वेबसाइटमार्फत उपलब्ध गराइएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत देशका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो।
कुल उम्मेदवारमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला र अन्य १ जना रहेका छन्।
क्याटेगोरी : प्रमुख समाचार












प्रतिक्रिया